त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा एसएसपी कृष्णहरि शर्मा



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ ।  उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेर विमानस्थलमा शर्मालाई ल्याएका हुन् ।

विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।  कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका हुन् ।  माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबिच कुटाकुट भएपछि त्यहाँको अवस्था ‘असामान्य’ बनेको छ ।


छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । विवादमा संलग्न असई तामाङ, अधिकृतलाई चेकजाँच गर्ने जवान रवि रञ्जन गुप्ता र अर्का जवान राजकुमार महतोलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।