जिबी राईलाई फरार सूचीमा राखेर सरकार रमिते बन्योः सांसद भट्टराई



काठमाडौं । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधि सभा सांसद् विद्या भट्टराईले पोखरा महानगरपालिकाअन्तर्गत रहेका ३ सय ६७ वटा सहकारीमध्ये १६ वटा सहकारीका बचतकर्ताको बचत जोखिममा रहेको बताएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले बचतकर्ताको बचतको सुरक्षाबारे जिम्मेवार हुन सरकारलाई आग्रह गरिन् ।

साथै, उनले पोखराका जनताको रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीका सञ्चालकलाई पक्राउ नगरेको भन्दै आपत्ति जनाईन् । उनले सरकारलाई कारबाही गर्न के–ले रोक्यो भनेर प्रश्नसमेत गरिन् । उक्त सहकारीका सञ्चालकलाई फरार सूचीमा राखी सरकार रमिता हेरेर बसेको उनको टिप्पणी छ ।


सूर्य दर्शन सहकारीका अध्यक्ष जिबी राई बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार भएका छन् । जिबी राई फरार भएपछि उक्त काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको समेत नाम मुछिएको छ ।

‘पोखराका भूइँ मान्छेहरुको बचत रकम हिनामिना गरी फरार रहेका सूर्य दर्शन सहकारीका सञ्चालकहरुलाई आजसम्म पनि फरार सूचीमा राखी सरकार रमिता हेरिरहेको छ,’– उनले भनिन् ।

रकम हिनामिना गर्ने सञ्चालकलाई पक्राउ नगरिएका कारण नागरिकहरु आत्महत्या गर्ने ठाउँमा पुगेको उनको भनाइ छ । सहकारी ठगलाई कारबाही गर्न सरकारलाई कारबाही गर्न कसले रोक्यो भन्दै उनले प्रश्न गरिन् । साथै, यस विषयमा पीडित बचतकर्ताका रकम फिर्ता गर्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकार्षण गराईन् ।