अर्थतन्त्रको बेथितिलाई थितिमा ल्याउन अझै समय लाग्छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई ट्रयाकमा ल्याउन अझै केही समय लाग्ने बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको बताए ।


उनले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए । उनले भने, ‘कम्तिमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ । समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्यांकले नै देखाइरहेको छ ।’

उनले दोब्बर हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए । परिस्थितिको राम्रो आंकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो ।

उनले भने, ‘ऋण लिने र दिने दुवैले स्थितिको मुल्यांकन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरुलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ ।’

उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने सरकारको अवस्था नरहेको बताए । उनले भने, ‘ऋण लिएपछि जसरी पनि तिर्नु पर्छ । ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु । तर त्यो सम्भावना छैन ।’