सिङ्गापुरमा एक मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सुब्रमण्यम ईश्वरनविरुद्ध मुद्दा दायर भएको हो । उनले ‘सरकारी सेवकका रूपमा लाभ प्राप्त’ गरेकोसहित २७ वटा आरोपमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।
सिङ्गापुरमा पहिलो पटक ‘फर्मूला वन ग्रान्ड प्रिक्स’ आयोजना गर्दा ईश्वरनले देशको पर्यटन उद्योगको नेतृत्व गरेका थिए । ईश्वरनले बिहीबार मन्त्रिपरिषद्बाट राजीनामा दिएका छन् । उनले सन् २०२३ को जुलाईमा उक्त मुद्दा सुरु भएयता आफूले लिएको तलब र भत्ता फिर्ता गर्ने बताएका छन् ।
ईश्वरनलाई जुलाई २०२३ मा बिदामा पठाइएको थियो। तर उनले प्रत्येक महिना ८ हजार ५०० सिङ्गापुर डलर (८ लाख ४० हजार रुपैयाँभन्दा बढी) रकम पाउने गरेका थिए । सांसदका रूपमा उनले प्रत्येक महिना १५ हजार सिङ्गापुर डलरभन्दा बढी रकम पाउँथे ।
सिङ्गापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब प्राप्त गर्नेमध्ये पर्छन् । मन्त्रीहरूको प्रारम्भिक तलब ४५ हजार सिङ्गापुर डलर (४४ लाख ५१,००० रुपैयाँ) भन्दा बढी हुन्छ। उच्च पारिश्रमिकले भ्रष्टाचार नियन्त्रण नेताहरूको तर्क छ ।
सरकारी वकिलहरूले बिहीबार सार्वजनिक गरेको अभियोगपत्रमा ईश्वरनविरुद्ध २७ वटा अभियोग लगाइएको देखिन्छ । त्यसमा उनले घरजग्गा कारोबारी ओङ बेङ सेङको व्यापारमा फाइदा पुग्ने गरी सघाएको र त्यसबापत १ ला ६० हजार सिङ्गापुर डलर बराबरको हवाई टिकट, होटलको शुल्क र ग्रान्ड प्रिक्सका टिकटहरू लिएको आरोप लगाइएको छ । ईश्वरन सिङ्गापुरको सत्तारूढ पीपल्स एक्शन पार्टीका वरिष्ठ नेता हुन् । राजनीतिमा आउनुअघि उनी कैयौँ प्रमुख कम्पनीका निर्देशक थिए ।