सरकार यसरी नै चले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आक्रोश पोखेका छन् । बिहीबार नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीमा लागेको आरोप लगाएका हुन् ।

उनले सरकारलाई तरकारी बारीको बुख्याँचाको संज्ञा दिएका छन् । उनले सरकार यसरी नै चले मिसन ८४ पर्खिन नसक्ने बताए । उनले भने, ‘सरकारले केही गर्न सकेन । अहिले त त्यसका टाउकामा सुगा र काग सबै बस्छन् । किनभने सबैले चिनिसके । सरकार बुख्याचा हो । सरकार निकम्मा भयो । निकम्मा मात्रै भएको भए हुन्थ्यो तर भ्रष्टाचार, तस्करी, कमिशनखोरी र त्यसको संरक्षक भयो । त्यसैले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छ ।’


उनले गठबन्धन देशका लागि हानिकारक भएको भन्दै यसले देश र राष्ट्रियतालाई कमजोर पारिसकेको बताए । उनले भने, ‘देशद्रोहीहरु सबै एकै खालका हुन्छन् र एकै स्थानमा बस्छन् । हामीले जनतासँग मिलेर देश जोगाउन आन्दोलनमा उत्रिनपर्ने र देश जोगाउनुपर्ने आवश्यकता छ ।’