हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी, प्रधानमन्त्रीले सेनासँग गरे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज (बुधबार) उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।


सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो।

सेनाले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रारम्भिक अध्ययनको सारसंक्षेप पेश गरेको छ । प्रतिवेदमा विद्यामान अवस्थामा केही संरचना र मेसिन वर्तमान मर्मत सम्हार गरेर सञ्चालनमा ल्याउन सकिने उल्लेख छ ।

उद्योग सञ्चालनका लागि सेनाको सैनिक कल्याणकारी कोषमा बजेट पर्याप्त रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सेनाले उद्योग सञ्चालनका लागि देशभित्रै कच्चा पदार्थ पर्याप्त रहेको र सेना तथा सरकारी कर्मचारीहरुका लागि लत्ताकपडा उत्पादन गर्न सकिने निश्कर्ष निकालेको छ ।