रुकुम पश्चिम । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो ।
किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।
जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ । किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन् ।
मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताए । जिल्लामा उत्पादन भएको मह काठमाडौँ, दाङ, नेपालगञ्जसम्म पनि निर्यात भएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकामा मौरी ब्लक विकास कार्यक्रम मार्फत जिल्ला कृषि विकास कार्यालयले किसानलाई सहयोग गरिरहेको छ । पालिकाहरूमा किसानको आवश्यकताअनुसार सहयोग भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा दुई सय किसानले मह उत्पादन गर्ने गरेका छन् ।
जिल्लामा आधुनिक घार र मुढेघारमा मह उत्पादन हुँदै आएको छ । पछिल्लो वर्ष आधुनिक घारको प्रयोग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । मह उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि किसान मौरीपालन व्यवसायमा आकर्षित हुँदै आएका छन् ।