मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 



काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भई  काठमाडौं शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतो रहेका छन् ।

महतोले जीवछ कुमार शाह समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पटाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ र मलेसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक  १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी ४ लाख ९४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार सिनामंगलबाट पक्राउ गरेको हो ।


उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।