जापानको भूकम्पमा मृत्यु हुनेको संख्या २४ पुग्यो, उद्धार कार्य जारी



टोकियो । जापानको इशिकावामा नयाँ वर्षको दिन गएको ७.६ रेक्टर स्केलको भूकम्पमा अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । 

जापान टाइम्सका अनुसार अहिलेसम्म २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने रहेको छ । भूकम्पपछि कैयौं ठाउमा आगो लागेको, सयवटा भवन जलेर खरानी भएको रिपोर्टमा उल्लेख छ ।


अहिले भग्नावशेषमुनि पुरिएका मानिसलाई बचाउन उद्धार कार्य जारी रहेको सरकारले बताएको छ । भूकम्पको केन्द्रविन्दु रहेको इशिकावा प्रान्तमा ३२ हजार ५०० घर बिजुलीविहीन छन् । त्यस्तै १९ अस्पतालमा बिजुली नहुँदा सर्वसाधारणलाई उपचारमा समस्या भइरहेको छ ।

यसै क्रममा जापानको इशिकावा क्षेत्रमा अर्को भूकम्पको चेतावनी जारी गरिएको छ । जापानमा सोमबार पहिलो पटक गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि ५० वटा परकम्प गएको छ । सबैको तीव्रता ३.४ देखि ४.६ बीचको थियो ।

भूकम्पपछि जापानका राजा नारुहितो आफ्नो परिवारसहितको नयाँ बर्षको कार्यक्रम रद्ध गरेका छन् ।