

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।
सोमवार बिहान सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको दाबी गर्दै तत्काल हटाउन आग्रह गरेका हुन् ।


बैठकमा महामन्त्री थापाले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ। हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट पनि हो । उहाँहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो। तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । बल प्रयोग गर्ने घटनाले बढाउँदै लैजाने त हो । हाम्रो डेमोक्रेसीमा हामीले एउटा ठाउँ बनाएको हो । यसको औचित्य छैन, यसको तत्काल खारेज गर्न अनुरोध गर्छु ।’
