आइएमएफले सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर ३.१ प्रतिशत बनायो



अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उदृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर तीन दशमलव एक प्रतिशत बनाएको मङ्गलबार घोषणा गरेको छ ।

पछिल्लो विश्व आर्थिक दृष्टिकोण (डब्लुइओ) प्रतिवेदनमा जारी अद्यावधिक आँकडा अक्टोबरमा आइएमएफको पछिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्कले बढी छ । आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले प्रतिवेदन प्रकाशनअघिको पत्रकार सम्मेलनमा भने, “हामीसँग एकैसाथ कम मुद्रास्फीति र अधिक वृद्धि दर थियो ।” उनले चीन, रुस, ब्राजिल र भारतसहितका मुलुकहरूमाथि प्रकाश पार्दै भने, “यो अमेरिकाको मात्र कथा होइन, गत वर्ष र सन् २०२४ सम्म विश्वका कयौँ भागमा धेरै लचिलोपन थियो ।”


सुधार भए पनि उच्च ब्याजदरको निरन्तर प्रभाव, महामारीसँग सम्बन्धित सरकारी समर्थन फिर्ता हुनु तथा उत्पादकत्वको निरन्तर न्यूनस्तरका कारण यस वर्ष र आगामी वर्ष वैश्विक वृद्धि तीन दशमलव आठ प्रतिशतको हालको औसतभन्दा तल रहने अनुमान गरिएको छ ।

सात मुलुकको समूह (जी७) को उन्नत अर्थतन्त्रहरूमध्ये युरोपेली मुलुकहरूमा वृद्धि कमजोर रहने देखिन्छ । यसले विद्यमान चुनौतीहरूलाई प्रतिविम्बित गर्दछ । जापान र क्यानाडाको प्रदर्शन केही राम्रो रहने अपेक्षा गरिएको छ ।

आइएमएफको समग्र मुद्रास्फीति दृष्टिकोण सन् २०२४ का लागि पाँच दशमलव आठ प्रतिशतमा अपरिवर्तित रहेको छ तर यसले धनी र गरिब मुलुकहरूबिच महत्त्वपूर्ण अन्तरनिहित परिवर्तनलाई लुकाएको छ ।

उन्नत अर्थतन्त्रहरूमा मुद्रास्फीति सन् २०२४ मा दुई दशमलव छ प्रतिशत हुने अनुमान छ । यो अक्टोबरमा गरिएको प्रक्षेपणको तुलनामा शून्य दशमलव चार प्रतिशत अङ्क कम हो । उदीयमान र विकासशील अर्थतन्त्रहरूमा वार्षिक मुद्रास्फीति दर शून्य दशमलव तीन प्रतिशतले बढेर आठ दशमलव एक प्रतिशत हुने अपेक्षा गरिएको छ ।

अधिकांश वृद्धिको श्रेय अर्जेन्टिनामा जारी समस्यालाई दिन सकिन्छ । त्यहाँ जारी आर्थिक सङ्कटका बिच गत वर्ष उपभोक्ता मूल्य दुई सय प्रतिशतभन्दा धेरैले बढेको थियो ।