६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्रीलाई,  प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न अनुरोध



काठमाडौं । सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकार गम्भीर नभए सङ्घर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा दुई दिन हेटौँडा छलफल गरेर काठमाडौं आएका मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी छैनन् । उनी हेटौँडाबाट धनगढी फर्किएका छन् ।


मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँगको भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गर्दै हेटौँडा बैठकले गरेका नौ बुँदे साझा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । भेटमा मुख्यमन्त्रीहरुले सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्।

हेटौँडामा भएको भेलाले संविधानमा व्यवस्था भए बमोजिमको अधिकार प्राप्त नभएको आवाज उठाउँदै आएका नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले संघीयता कार्यान्वयनका लागि साझा धारणा बनाउन पहल गर्ने सहमति गर्दै नौ बुँदे साझा पत्र सार्वजनिक गरेको छ । भेलाले संघीयताको विषयमा संविधान निर्माणमा संलग्न प्रमुख दलहरुले स्पष्ट र साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

मुख्यमन्त्रीहरुले प्रहरी समायोजन, सङ्घीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । प्रदेशले प्रयोग गरिरहेका सरकारी भवन तथा जग्गाको स्वामित्व हस्तान्तरण गर्न, साझा अधिकारका विषयका कानुन निर्माणमा सहकार्य गर्न, राष्ट्रिय वनलगायतका प्राकृतिक स्रोतको उपयोग एवम् राजस्व बाँडफाँट, वित्तीय हस्तान्तरण लगायतका माग राखेका छन् ।