ईपीएस शाखाले फेरि खोल्यो आवेदन, जहाज कम्पनीको फारम भरेकाले मात्र सहभागी हुन पाउने



काठमाडौँ ।  वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि पुनः आवेदन खुला गरेको छ । तर, पुस १६ देखि १८ गतेसम्म आवेदन दिन पाइने यो परीक्षामा जहाज निर्माण (सीप बिल्डिङ) कम्पनीमा सहभागीहरूले मात्र सहभागिता जनाउन पाउने विभागले सीमा तोकेको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सन् २०२३ मा सीप बिल्डिङ सेक्टरमा फाराम भरेका आवेदकहरूले मात्र फारम भर्न सक्नेछन् । सो भन्दा बाहेकका व्यक्तिले फारम भर्न पाइने छैन । यदि भरेको खण्डमा स्वतः रद्द हुनेछ ।’


यसअघि ईपीएस कोरिया शाखाले मंसिर १९ गते सूचना प्रकाशित गरेर कोरियाको उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि दरखास्त आह्वान गरेको थियो । तर, त्यसमा जहाज निर्माण कम्पनीतर्फ परीक्षा दिएकाहरुले सहभागी हुन नपाउने विभागले बताएको थियो ।

यही विषयलाई लिएर पाटन उच्च अदालतमा रिटसमेत परेको थियो । असन्तुष्ट परीक्षार्थीले आन्दोलन गर्नेक्रममा शुक्रबार ललितपुरमा दुईजनाको ज्यानसमेत गएको थियो ।

अन्ततः अदालतले आदेश दिएको भन्दै ईपीएस शाखाले एक कदम पछि हटेर जहाज  निर्माण कम्पनीका लागि फारम भरेकाहरुले पनि उत्पादनमूलक क्षेत्रको रोजगारीका लागि आवेदन दिन सक्ने सूचना जारी गरेको हो