मेलमिलाप दिवसमा कांग्रेसको विशेष कार्यक्रम, संविधान निर्माणमा संलग्न दलहरुसँग अन्तरक्रिया गर्दै



काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै यसपटक विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्ष ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको हो । 


कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला आफू राष्ट्रिय एकताका लागि जीवन अर्पण नै गर्न समेत तयार भएको भन्दै मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फिर्ता आएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कांग्रेसले विगतमा पार्टीभित्र आन्तरिक कार्यक्रम मात्रै गरेर दिवस मनाउने गरेकोमा यसवर्ष परम्परालाई तोड्दै मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा मेलमिलाप र अन्तरक्रिया गर्न लागेको हो ।

कांग्रेसले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सोमबार हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित संविधान निर्माणमा सहभागी दलहरुलाई आमन्त्रण गरेको जनाएको छ । कांग्रेसको यस कार्यक्रममा हाल संसदमा चौथो ठुलो दलको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र अर्को दल राप्रपालाई भने बोलाइएको छैन ।