प्रमुख निर्वाचन आयुक्त थपलियाको कविता संग्रह ‘गाउँ फर्कन्छु’ सार्वजनिक



काठमाडौं। प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा दिनेशकुमार थपलियाको कविता संग्रह ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ।

साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उनका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन्। निजामती सेवामा लामो समय सेवा गरी सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन्। उनका दर्जनौँ गीत ‘रेकर्ड’ भएका छन्।


अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा टंक न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ। उनले थपलियाका कविताहरु युगबोधी भएको बताए।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताए।

कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यंग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताए।

कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गरेका थिए।