गण्डकीका दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु



गण्डकी । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको हो । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले दुई साताअघि सम्झौता भई परामर्शदाता कम्पनीले अध्ययनको काम सुरु गरेको जानकारी दिए । “एक महिनाभित्र क्षेत्र निर्धारण र कार्यसूची तय गर्ने, दुई महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन र पाँच महिनाभित्रमा अन्तिम अध्ययन प्रतिवेदन बुझाउने गरी परामर्शदाता कम्पनीलाई जिम्मा दिइएको छ”, उनले भने ।


इआइए नगरेसम्म औद्योगिक क्षेत्रका लागि सङ्घ सरकारबाट जग्गा उपलब्ध नहुने भएपछि वातावरणीय अध्ययनको कामलाई प्रदेश सरकारले अगाडि बढाएको आचार्यले बताए । समयमा जग्गा व्यवस्थापन हुन नसक्दा घोषणा गरेको वर्षौँ बित्दासमेत औद्योगिक क्षेत्र निर्माण सुरु हुन नसकेको उनको भनाइ थियो ।

जग्गा प्राप्तिका लागि प्रदेशले पठाएको प्रस्ताव सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको महाशाखा प्रमुख आचार्यले बताए । “वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन प्रतिवेदन आइसकेपछि जग्गा व्यवस्थापनको प्रक्रिया अगाडि बढ्छ । त्यसपछि औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणमा मन्त्रालय केन्द्रित हुन्छ”, उनले भने । 

औद्योगिक क्षेत्रका लागि चालु आवमा प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट छुट्टाएको छ । सङ्घ सरकारले वन तथा वातावरण मन्त्रालयको सहमतिपछि सङ्घीय मन्त्रिपरिषद्ले प्रस्तावित औद्योगिक क्षेत्रका लागि जग्गा उपलब्ध गराउने निर्णय गर्ने महाशाखा प्रमुख आचार्यले जानकारी दिए । प्रदेश सरकारको उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वन तथा वातावरण मन्त्रालयमा पुगिसेकेको उनको भनाइ थियो । 

जग्गा व्यवस्थापनका लागि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापासहित मन्त्रालयका पदाधिकारीले केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीले जग्गा दिने प्रक्रियालाई छिटो टुङग्याउन मातहातका मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको महाशाखा प्रमुख आचार्यले बताए ।

प्रदेश गौरवका आयोजनाका रुपमा घोषित औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएपछि जनस्तरमा पनि गुनासो बढेको छ । प्रदेश सरकारले पुँडीटारमा रु ५४ करोड र लोकाहा खोलामा रु ७६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)समेत तयार पारिसकेको छ । औद्योगिक क्षेत्रलाई चाहिने जग्गा नापजाँच भइसकेकाले अब जग्गा उपलब्ध गराउने सम्बन्धमा सङ्घ सरकारको निर्णयको पखाइमा प्रदेश सरकार रहेको महाशाखाका प्रमुख आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरी जग्गा प्राप्तिको प्रस्ताव गतवर्ष नै सङ्घमा पठाएको थियो । सरकारी जग्गाको भोगाधिकार दिने निर्णय सङ्घ सरकारको मन्त्रिपरिषद्ले गर्नुपर्ने कानुनी व्यवस्था छ । 

जग्गा प्राप्ति भएपछि पुँडीटारमा चार हजार पाँच सय रोपनी र लोकाहाखोलामा एक सय ४१ बिघामा औद्यागिक क्षेत्र निर्माण हुनेछ । पुँडीटार औद्योगिक क्षेत्रले कास्कीको पोखरा–३३ र तनहुँको शुक्लागण्डकी–९ को केही भू–भागलाई समेट्छ । लोकाहाखोला औद्यागिक क्षेत्रले नवलपुरको कावासोती–१ र देवचुली–१० मा स्थापना हुन लागेको हो । पुँडीटारमा केही अव्यवस्थित बसोबास रहेका ठाउँ भए पनि बस्तीबाहेकको जग्गालाई मात्र समेटेर ‘डिपिआर’ बनाइएको मन्त्रालयले जनाएको छ । 

प्रस्तावित दुवै औद्योगिक क्षेत्रको जग्गा सामुदायिक वन क्षेत्रभित्र पर्दछ । जग्गाको नापजाँच र श्रेस्तासमेत कायम भइसकेको जनाइएको छ । सङ्घ सरकारले जग्गा उपलब्ध गराउने विषयमा सकारात्मक निर्णय गर्नेमा आचार्यले विश्वास व्यक्त गरे । पुँडीटारमा अव्यवस्थित बसोबासमा रहेका ५०-६० घरघुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थापाले आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउन लागिपरेको बताए । “प्रधानमन्त्री, मुख्य सचिवलगायतसँग भेटेर जग्गाको विषयमा कुरा राखेका छौँ । जग्गा व्यवस्थापनको प्रक्रिया छिट्टै टुङ्गिन्छ भन्ने विश्वास छ”, उनले भने ।

घोषणा भएको वर्षौँ वितिसक्दा पनि औद्योगिक क्षेत्र निर्माण अघि नबढ्नु दुःखद् रहेको मन्त्री थापाको भनाइ थियो । उनका अनुसार प्रदेश सरकारले दुई औद्योगिक क्षेत्रसँगै २५ उद्योग ग्राम निर्माणको योजनालाई अघि बढाएको थियो । 

जग्गा व्यवस्थापन गर्न नसक्दा अधिकांश ठाउँमा उद्योग ग्रामको काम पनि अघि बढ्न नसकेको मन्त्री थापाले जानकारी दिए । कतिपय स्थानीय तहले जग्गा भएर पनि पूर्वाधार निर्माणमा ढिलासुस्ती गरिरहेका छन् । उद्योग ग्राममा बजेट खर्च गर्न नसकेर गतवर्ष कतिपय स्थानीय तहले बजेट फिर्ता गरेका थिए ।