काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । मेची–महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवासँग कुराकानी गरेका हुन् ।
देउवाको गाउँ गन्यापधुरा नजिक बसेका उनले देउवाको याद आएर फोन गरेको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा उक्त फोनवार्ताको सानो भिडियो क्लिप सार्वजनिक गरेका हुन् ।
सो क्रममा ओलीले जय नेपाल भन्दै कुराकानी सुरु गरेका छन् । ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौंतिरको हालखबर सोधेका छन् ।
‘जय नेपाल डडेलधुरा गन्यामधुराको छेवैबाट फोन गरेको हु,’ सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा ओलीले भनेका छन्, ‘यहाँ राम्रै छ, तपाईँको जिल्लामा आएको बेलामा यसो सम्झेको नि।’
निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।
देउवासँग भएको थप कुराकानीबारे ओलीले केही बताएका छैनन् ।
सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दे ओलीले लेखेका छन्–
सुन्दर डडेलधुरा !!
मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी !