सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै



गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् ।

भूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो । पदयात्राको याम सुरु भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । “यो याम सुरु भएयता विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्”, उनले भने, “विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चाप पनि बढिरहेको छ ।”


समितिले यसअघि सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालेकामा कोरोना महामारीको प्रभावका कारण त्यसयता पर्यटकको आगमन हुन सकेको थिएन । तत्कालीन समयमा नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल–२०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायत काममा सक्रियता देखाएको थियो ।
    
सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रवद्र्धनलाई लक्षित गरी बृहत् गुरुयोजनाअनुसार काम अघि बढाइएको बताउँदै महासचिव गुरुङले गुरुयोजनाअनुसार पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीको संरक्षण र उपयोग जोड दिइएको बताए ।

समितिले पदयात्रा पर्यटनको विकासका लागि पहिचान गरिएका क्षेत्र सुनिश्चित गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ । पदमार्ग क्षेत्रमा पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा होमस्टेलगायत पूर्वाधारमा पनि स्थानीयले लगानी बढाइरहेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए । पदमार्ग क्षेत्रमा विभिन्न १७ वटा होमस्टे सञ्चालनमा रहेका बताउँदै उनले पर्यटकको आगमनले होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ भएको जानकारी दिए । यस पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरबास सञ्चालनमा छन् ।
    
त्यसैगरी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा ११ स्थित राईपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरबास सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए ।

मिलेनियम ट्रेकको प्रवद्र्धनलाई नेपाल पर्यटन बोर्डले पनि प्राथमिकतामा राखेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेलले जानकारी दिए । बोर्डको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य ३५ वटा सङ्केत पाटी राखिएका छन् । पर्यटन बोर्डले चालु आर्थिक वर्षमा यस पदमार्गको प्रवद्र्धनका लागि रु १० लाख र पूर्वाधार विकासमा रु ५० लाख छुट्याएको महासचिव गुरुङले जानकारी दिए ।  पर्यटन पूर्वाधार विकासका लागि गण्डकीको प्रदेश पर्यटन मन्त्रालयले रु २० लाख छुट्याएको उनले बताए ।

पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो । यो पदमार्गमा विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त मात्रामा देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका गिद्धलगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

पदमार्ग क्षेत्रअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जङ्गल पर्ने भएकाले वन, वन्यजन्तु चराचुरुङ्गी अवलोकनका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा वन र वन्यजन्तुको अवलोकन, अध्ययन अनुसन्धानका लागि पनि अध्येताहरू आउने गरेका छन् । 

पदमार्ग क्षेत्रअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडामा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वन्यजन्तु अनुसन्धान तालिमसमेत सञ्चालन गर्दै आएको संस्थाका निर्देशक राजुआचार्यले जानकारी दिए । उनका अनुसार वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा, ५७  प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् । यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए ।

तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने देखिएको उनले बताए ।