वीरेन्द्रनगर नगरपालिकाद्वारा भूकम्प प्रभावितलाई २६ लाख सहयोग



भेरीगङ्गा । वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने भएको हो ।

वीरेन्द्रनगर नगर कार्यपालिकाको बैठकले नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट रु एक–एक लाख १६ लाख र नगरपालिकाकातर्फबाट रु १० लाख गरी जम्मा रु २६ लाख सहयोग गर्ने निर्णय गरेको हो ।


नगरप्रमुख मोहनमाया ढकालले विपद् कोषमा भएको रकममध्ये पालिकाभित्रका १६ वटा वडा र नगरपालिकाको गरी जम्मा रु २६ लाख भूकम्प प्रभावितको पुनःस्थापना कोषमा सहयोग गरिने बताए ।

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

यसैबीच दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु ५० हजार राहत सहयोग गर्ने बताएको छ । सानो भए पनि भूकम्पपीडितको घाउमा मल्हम लगाउन रु ५० हजार राहत रकम दिने निर्णय भएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।