काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख र प्रमुख प्रशासनीक अधिकारीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
सडक कालोपत्रे गर्दा काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियारले नगरपालिकाको तत्कालिन उपप्रमुख सविना कुमारी चौधरी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष राजकुमार चौधरी, योजना शाखाका नासु सुनील कुमार चौधरी लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले यही घटनामा लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इञ्जिनियर देबेन्द्र नारायण चौधरी र सव–इञ्जिनियर हर्षलाल चौधरीमाथि सडक कालोपत्र गर्दा बढी रकम भुक्तानी गरी राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले उनीहरुमाथि झुट्टा बिल, नापी किताब र कार्यसम्पादन प्रतिवेदन नै झुटो बनाइ २ लाख १२ हजार रुपैयाँ बढी भ्रषटाचार गरेकाे भन्दै साेही रकम बराबरकाे बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर गर्न माग गरेको छ ।
अख्तियारले सडक पिच गर्ने ठेक्का पाएको जालपा सिद्ध निर्माण सेवा, सुनसरीका सञ्चालक नानु कुमारी निरौला विरुद्ध पनि मुद्दा दायर गरेको छ ।