तिलौराकोटलाई यसरी गरिँदैछ विश्व सम्पदामा सूचीकृत



लुम्बिनी । तिलौराकोट गौतमबुद्धले २९ वर्ष बिताएको ठाउँ हो । राजा शुद्धोधनको राजाप्रसाद रहेकाले तिलौराकोटको ऐतिहासिक महत्व छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध मात्रै छैन, बौद्धमार्गीको आस्थाको केन्द्र पनि हो ।

कपिलवस्तु सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तर बाणगङ्गा नदीको किनारमा रहेको तिलौराकोटमा अहिले जीर्ण भइसकेका तीन वटा भग्नावशेष मात्र बाँकी छन् । यी तीनै वटा भग्नावशेषको संरक्षण र उत्खनन भइरहेको छ । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा समेत चिनिन्छ ।


जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोटलाई अहिले विश्व सम्पदामा सूचिकृत गर्न प्रयास भइरहेको छ । विगतमा संरक्षणको अभावमा भग्नावशेषका इँटाहरू बेलाबेलामा उक्किएर खस्ने गरेका थिए । अहिले संरक्षण गरिएको छ । लुम्बिनी विकास कोषले तिलौराकोटा पुरातात्विक संरक्षण र उत्खनन् गरी विश्व सम्पदामा राख्न निरन्तर प्रयास जारी राखेको छ ।

‘प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि विकास कोष र तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तिम तयारी गरेको छ’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले भने, ‘मन्त्रालय, विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्य सरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको हो ।’

तिलौराकोटमा नोभेम्बर २० देखि ३० तारिखसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेजलाई अन्तिम रुप दिन कार्यक्रम भइरहेको छ ।

शुक्रबार मात्रै तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्वारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौरवको आयोजनाका रुपमा सूचीकृतका लागि पहल गर्ने प्रतिद्धबता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गौतबुद्ध हुर्किएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर यसको महत्व विश्वव्यापी बनाउने उनले जनाएका हुन् । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि गत सेप्टेम्बरमै प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ ।

प्रस्तावित मनोनयनका सम्बन्धमा प्राप्त सुझाव र विज्ञहरुसँगको छलफलबाट अन्तिम मनोनयन तयार गर्ने कार्य अन्तिम चरणमा छ । उक्त अन्तिम मनोनयन लुम्बिनी विकास कोषका तर्फबट नोभेम्बर ३० भित्र पुरातात्व विभाग हुँदै मन्त्रालयमा पठाउने र आवश्यक पृष्ठपोषणपछि यूनेस्को विश्व सम्पदा केन्द्रमा सन् २०२४ को जनवरी २४ भित्र पेश गर्नुपर्नेछ ।

अन्तिम मनोनयन दर्ता भएपछि इभ्यालेशन मिशन, इकोमस सहितले सन् २०२४ सम्म अध्ययन गर्ने र सन् २०२५ मा विश्व सम्पदा समितिमा तिलौराकोटलाई सूचीकृतका लागि प्रस्ताव लगिने प्रवाधान रहेको अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलले बताए । कार्यशालामा सम्पदा विशेषज्ञ डा. मार्सल, प्रो. डा.रविन कनिङहमले कपिलबस्तुमा हालसम्म भेटिएका प्रमाण र विश्व सम्पदा सूचीमा सुचीकृतका आधारहरुबारे जानकारी गराएका थिए ।

अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलको उपस्थितीमा अन्र्तराष्ट्रिय विज्ञ डा. डंकन मार्सल (अष्ट्रेलिया), प्रा.डा. रविन कनिङहम (बेलायत) सहित नेपालका तर्फबाट विज्ञहरु काई वाइजे, प्रोफेसर योकियो निसिमुरा, प्रो. म्याक्स डिग, डा. मार्क म्यानुअल, पुरातत्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्व विभागका प्रवक्ता रामबहादुर गुरुङ, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहितको विज्ञ समूहले तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृतको अन्तिम मनोनयन दस्तावेज तयार पार्ने काममा संलग्न भएका हुन् ।

यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो । विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।

सरकारले २०७८/७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।