छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै



वीरगञ्ज (पर्सा) । दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ ।


विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक सुरु हुन्छन् ।

अहिले गाउँगाउँ घरघरमा छठपर्वका गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्टी अर्थात छठपर्व प्रारम्भ हुनेछन् । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताए । 

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिषशास्त्रका आधारमा छठपर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारीसमेत मानिएको छ । छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मीठाइ, अदुवा, उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । 

छठ पूजाका लागि नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उनको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।

महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाका किरात राजाका राज्यमा बास बसेका थिए ।

लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

अर्कातिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रको कथन छ । छठपर्व मनाउनेको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ ।