सरकारलाई ओलीको प्रश्न- खुँडा हानेर मान्छे मार्नेलाई छाड्नु सुशासन हो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकालको कैद माफी गरिदिएका थिए ।


मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष ओलीले उक्त माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् । ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन् ।

ओलीले भने, ‘फागुन १ को उत्सवमा छाड्यो कि संविधान दिवसमा मैले मिति बिर्सिएँ तर अदालतले १० वर्ष कैद तोकेकोमा सरकारले ४ वर्ष नपुग्दै छाडिसक्यो। पीडितलाई उपचार गरिदिन नसक्ने । अपराधीलाई छाड्ने अनि सुशासनको नारा लगाउने ?’
उनले एसिड आक्रमणकारीलाई समेत उन्मुक्ति दिइएको भन्दै आलोचना गरे । उनले भने, ‘सुशासन छँदैछैन । एसिड आक्रमण विरुद्ध मैले अध्यादेशबाट कानुन ल्याउनुपर्‍यो । कडा कारबाही गर्ने कानुन बनेकोमा सबै महिला खुशी पनि थिए। तर मुस्कान खातुनको घाउ निको भएको छैन । उनलाई एसिड प्रहार गर्ने आक्रमणकारीलाई सरकारले छोडिसक्यो ।’