गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी निर्वाचित



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसी एक हजार ३ सय ७८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शर्माले १ हजार २ सय ८१ र श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् ।

संघको उपाध्यक्षमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिम्खडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डा. विनोद श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी भइन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापा विजयी भएका छन् । संघको महासचिवमा गौरीराज जोशीले २ हजार ३७ मत प्राप्त गरेर विजयी भएका छन् ।


यस्तै उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भएका छन् । ६ सचिव पदमा भीम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी , मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन् । महिला सचिवमा टिक गुरुङ, राधिका विजयी भइन् । कोषाध्यक्षमा सुदन थापा विजयी भएका छन् ।

यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत र तिलकप्रसाद गैरे विजयी भएका छन् । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा विजयी भइन् । यस्तै अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भइन् । संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी भएका छन् ।

यसैबीच, संघको अध्यक्षमा केसी निर्वाचित भएपछि विवाद सुरु भएको छ । केसीका प्रतिस्पर्धीले चुनावी प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन परिसरमा विवाद झिकेका छन् ।

उनीहरूले चुनावी प्रक्रिया फिर्ता लिनुपर्ने भन्दै नाराबाजी गरेका छन् । अनलाइन मतदानमा प्रणालीगत रूपमै केसीलाई जिताउने गरी धाँधली गरेको आरोप लगाइरहेका छन् । केसीका प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पक्षका समर्थकहरूले केसीविरुद्ध नाराजुलुसमेत लगाएका छन् ।