काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रचुर अवसरहरू भएकाले लगानी बढाउन बेलायतमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । नेपाल जनसम्पर्क समिति बेलायतले लण्डन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको जलविद्युत र पर्यटनमा लगानीको प्रतिफल उच्च रहेकाले लगानी बढाउन आग्रह गरेका हुन् ।
बेलायतस्थित गैरआवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनुपर्ने कारण नरहेको बताए ।
अध्यक्ष ढकालले सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसन सहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै आफू जन्मेहुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैरआवसीय नेपालीसँग आग्रह गरे ।
कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा र कर्णालीको चिसापानीको जालपादेवी केबलकार परियोजना निर्माणको चरणमा प्रवेश गरिसकेकाले लगानीको अवसर हातमै आइपुगेको अध्यक्ष ढकालले जानकारी गराए ।
यस्तै, गैरआवासीय नेपालीसँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेकाले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन अध्यक्ष ढकालले आग्रह गरे । विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्यरूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकिङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत फैलिने नकारात्मक कुरालाई ध्यान नदिएर नेपालमा रहेका लगानीका अवसरहरूलाई छोप्न अध्यक्ष ढकालले आग्रह गर्दै लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना रहेको बताए ।