त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, कार्गो जाँचपास बन्द



काठमाडौं । सुन तस्करी प्रकरणमा धमाधम सहकर्मी पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले सोमबार विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन् ।


प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्व सचिव, अर्थसचिव‚ भन्सार विभागका महानिर्देशकलाई बोधार्थ दिँदै कर्मचारीहरूले मंगलबार र बुधबार विमानस्थलस्थित भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण काम बन्द गर्ने बताएका छन् ।

पाँचबुँदे माग राखेका उनीहरूले २७ भदौभित्र माग सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कामसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।