हरियाली बन्दै बागमती बगर



चन्द्रपुर (रौतहट) । कुनै बेला ढुङ्गा तस्करको ढुङ्गा भण्डारण गर्ने तथा चरिचरन क्षेत्र बनेको रौतहटको बागमती बगर यतिबेला हरियाली बन्न थालेको छ ।

प्रदेश सरकारको नदी किनार संरक्षण कार्यक्रमअन्तर्गत बृहत वृक्षरोपण कार्यक्रम गरिएपछि उजाड र बेवारिसे बगर क्षेत्र अहिले हरियाली देखिन थालेको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती नदीको खोला किनारमा गरिएको वृक्षहरु हुर्किन थालेका छन् ।


डिभिजन वन कार्यालयमार्फत गत असारमा गरिएको वृक्षरोपणलाई सिमेन्टको खम्बामा तारजाली राखेर संरक्षण गर्न थालेपछि बिरुवा हुर्किन थालेका हुन् । बागमतीमा रहेको दोभान सामुदायिक वनको पूर्वतर्फको नदीको किनारमा वृक्षरोपण गरिएको थियो । सो क्षेत्रमा १८ हेक्टरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको सहायक वन अधिकृत सुरेशकुमार महतोले बताए ।

अधिकृत महतोका अनुसार अहिले बिरुवा संरक्षणको काम भइरहेको छ । यस क्षेत्रमा बाख्रा, गाई, भैँसी चराउने गरेकाले सो क्षेत्रमा बिरुवा हुर्काउन जनावरबाट नै दुःख हुने गरेको छ । जनावरले तारजाली, खम्बा भत्काउने र बिरुवामा पनि क्षति गर्ने गरेका छन् । हाल यस क्षेत्रमा भएका बिरुवालाई हुर्काउन चुनौती देखिएको छ । वन कार्यालयले अहिले रोपिएका बिरुवा हुर्काउन र संरक्षणमा ध्यान दिँदै आएको छ ।

नदी किनार उकासको जमिन उपयोगविहीन अवस्थामा रहेको थियो । यस क्षेत्रमा खयर, सिसौ, जामुन, अमला, बडहर, टिक, सत्तिसाललगायतका बिरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख सुनिल कर्णले बताए ।

केही वर्षपछि यस क्षेत्रमा डाले घाँस प्रशस्त पाइने भएकाले समुदायमा रहेका स्थानीय पशुपालक कृषकले यसबाट लाभ लिन सक्नेछन् । गौरवको आयोजना रेलमार्ग त्यस सामुदायिक वन क्षेत्र भएर गएको हुँदा धेरै मात्रामा रुख कटान भएकाले यस वृक्षरोपणले परिपूर्ति गर्ने डिभिजनन प्रमुख कर्णको धारणा छ ।