सुदूरमा शिक्षाः उहिले धौ–धौ, अहिले आँगनमै विद्यावारिधि



महेन्द्रनगर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । 

त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर सुदूर (टाढा) रहेन ।


नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैं ओझेलमा परेको विषय अब इतिहास भइसकेको छ ।

तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हँुदै गएको शिक्षाविद्को बुझाइ छ ।

विक्रम संवत् २०५० सालको सेरोफोरोमा कर्णालीयता महेन्द्र राजमार्गमा २२ वटा पक्की पुल बनेपछि स्थलमार्गबाट मुलुकका अन्य भूभागसित जोडिएको सुदूरपश्चिममा हरेक क्षेत्रको विकासले गति लिँदै गएको छ ।

विक्रम संवत् २०६७ सालमा सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि यहाँका नागरिकले न्युन शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । विक्रम संवत् २०६९ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन शुरू गरिएको थियो । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

यहाँका मदन पुरस्कार विजेता भीमदत्त नगरपालिकाका नरबहादुर साउँदले विगतमा अध्ययनका लागि निकै कष्ट व्यहोरेको बताए । ‘हाइस्कूल बैतडी गाउँमै अध्ययन गरें,’ उनले भने, ‘आईएस्सी ऐजीका लागि १ वर्ष काठमाडौं र पछि चितवन रामपुर पुगें ।’

उनले २०३६ सालमा उच्च शिक्षाका लागि भारतको लखनउ, गोरखपुर र भैरहवा हुँदै ३ दिन लगाएर काठमाडौं पुगेको स्मरण गराए ।

‘अहिले त शिक्षामा पहुँच निकै सहज भइसक्यो,’ उनले भने, ‘उ बेला प्राविधिक शिक्षामा पहुँच त यहाँ असम्भवजस्तै थियो ।’ सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हँुदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्तले बताए । सुदूरपश्चिममा अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको पहल हुँदैछ । 
    
‘विक्रम संवत् २०५७ सालमा पनि उच्च शिक्षाका लागि २/३ दिनको बाटो हिँडेर काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘त्यो बेला पनि एमएबीए गर्न पनि निकै संघर्ष गरेर अध्ययन गर्न पाइन्थ्यो ।’ त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नुपरेको थियो विश्वविद्यालयको स्थापनापछि त्यो समस्याको अन्त्य भएको उनले बताए ।

‘विक्रम संवत् २०५७ सालपछि मात्रै काठमाडौं बाहिर पहिलो पकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको थियो,’ उनले विगत सम्झिँदै भने, ‘त्यो बेला अध्ययन गर्न धेरै दुःख थियो अहिले त घरमै आमा/बुबाले पाएको रोटी आएर क्याम्पस जाने अवस्था यो राम्रो पक्ष हो ।’

विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको उनले बताए । ‘अब विश्वविद्यालयले युग सुहाउँदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ,’ उनले भने, ‘विश्वविद्यालयले आंगिक क्याम्पस थप गरेर शिक्षाको विस्तार गर्नुपर्छ ।’

हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा १६ वटा क्याम्पसबाट उच्च शिक्षादेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ वटा र स्नाकोत्तर तहमा १० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन । गत शैक्षिक शत्रदेखि स्वास्थ्य विज्ञान संकाय तथा कानून संकाय पनि सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक शास्त्र तथा व्यवस्थापन संकायमा एमफिल र पीएचडी कार्यक्रममा सञ्चालनमा छन् । 

मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, इन्जिनीयरिङ संकाय र कृषि विज्ञान संकायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय स्थापनापछि सहज भएको छ । दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहज रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालयमा विद्यावारिधि गरिराखेका प्रेमबहादुर सिंहले घरआँगनै विद्यावारिधि गर्न पाउँदा धेरै सहज भएको बताए । ‘यहीँ विद्यावारिधि हुँदा पढ्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘घरनजिकै कम खर्चमा विद्यावारिधि गर्न पाउँदा खुशी त हुने नै भयो ।’ उनले उच्च शिक्षाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता हटेको बताए ।

सुदूरपश्चिम विश्वविद्यालय सभाका सदस्य लिलाध्वज बस्नेतले उतिबेला शिक्षा आर्जनका लागि धौंधौं हुने सुदूरपश्चिममा अहिले सर्वसुलभ रूपमा चाहेको विषय पढ्न मिलेको बताए । ‘हामीले अध्ययन गर्ने बेला चाहेर पनि उच्च शिक्षामा हाम्रो पहुँच सहज थिएन,’ सभा सदस्य बस्नेतले भने, ‘अहिले घरको रुखोसुखो खाएर चाहेको विषय पढ्न सहज भएको छ ।’

उतिबेला पहुँच हुनेले मात्र उच्च शिक्षा अध्ययन गर्न पाउने बताउँदै उनले अहिले सर्वसाधारणले सहज रूपमा अध्ययन गर्न पाएको बताए । ‘त्यो बेला यहाँ क्याम्पस नै थिएनन्,’ उनले भने, ‘अब हामीले विश्वविद्यालयको विकास र गुणस्तरमा ध्यान दिनुपर्छ ।’

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले उतिबेला सुदू्रपश्चिममा उच्च शिक्षा कल्पनाभन्दा बाहिरको विषय रहेको बताए । ‘पहिला उच्च शिक्षा लिन नैै सहज थिएन सीमित कलेज थिए,’ उपकूलपति जोशीले भने, ‘२०५५ सालपछि मात्रै केही कलेज स्थापना भएका हुन् ।’ त्यो बेला सीमित कलेज भएकाले उच्च शिक्षामा सबैको पहुँच हुँदैन थियो । 

‘अहिले हामी क्रमिक सुधारमा लागेका छौ विद्यावारिधि र एमफिलका कार्यक्रम सञ्चालन छन्,’ उनले भने, ‘अब सुदूरका जनताका छोराछोरीले सरकारी शुल्कमा मेडिकल शिक्षा पनि यहीबाट पाउने छन् ।’ उनले सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । स्नातक तहमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पस गरी नौ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् भने स्नातकोत्तर तहमा १ हजार ८२ विद्यार्थी अध्यनरत छन् ।