बिरुवा लिन सर्वसाधारणको भीड



दमौली । केही दिनयता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ ।

कार्यालयले बिहीवारदेखि निःशुल्क रूपमा बिरुवा वितरण गर्न शुरू गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो । 


बिहीवार, शुक्रवार र आइतवार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण माग अनुसारको बिरुवा लगिरहेका छन् । शुक्लागण्डकीदेखि आइपुगेका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा लगेको बताए ।

उनले भने, ‘कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगें, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छांै ।’

व्यास नगरपालिका–९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताए । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आएका छन् । उनले भने, ‘डाले घाँस लगेर आफ्नै बारीमा रोप्छु ।’

कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्क रूपमा बिरुवा वितरण शुरू गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार १ लाख ८ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उनको भनाइ छ । 

कार्यालयमा विशेषगरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उनले बताए । बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ । यसले गर्दा बिरुवाको संरक्षण भएको छ कि छैन भन्ने अनुगमन गर्न सजिलो हुने उनको भनाइ छ ।

उनले भने, ‘बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रस्ट भनेका छौं ।’

डिभिजन वन कार्यालयको नर्सरीमा मात्रै ७० हजार बिरुवा उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषक कार्यालयमा आउँछन् । पशुपालनमा सक्रिय कृषक डाले घाँसका लागि बिरुवा लिन आउने गरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए । कार्यालयको नर्सरीसहित सबडिभिजन ऋषिङ, विमलनगर, शुक्लागण्डकी र ब्यासमा बिरुवा उत्पादन हुन्छ । 

कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सीपलिगान, राजवृक्ष, पारिजात, शीतलचिनी, बडहर, इपिल, लप्सी, अमला, चाप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ ।