सर्वोच्चको तारिख पर्चा सार्बजनिक गर्दै बालेनले भने- म आजबाट अपराधी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त गरेको र आजदेखि तारिखमा रहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले लेखेका छन्,‘ आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आजबाट अपराधी ।’


मेयर साहले सरकार र अदालतलाई भारतको गुलाम भएको आरोप लगाएपछि उनीविरुद्ध अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

उनले भनेका थिए, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’