राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश



काठमाडौं । अनलाइन जुवा सट्टेबाज वानएक्स बेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकारसहित ११ जनालाई नै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालले कलाकारसहित ८ जनालाई ५ हजार रुपैयाँका दरले धरौटीमा छाड्न आदेश दिएका हुन् ।


यस्तै वानएक्सबेटका मुख्य एजेन्ट भनिएका दिनेश खड्कालाई १० लाख र उनकी पत्नी अनिता धिताललाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा बल्छी ध्रुवे र राजुमास्टरसँगै जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेलाई पनि पक्राउ गरेको थियो ।

उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग छ ।

उक्त अभियोग अनुसार उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।