मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार



झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए । घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । सो विद्यालय दर्तासमेत नरहेको उनले बताए । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत् छन् । विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए ।

उक्त विद्यालय विसं २०७० मा मनोज गुरुङले स्थापना गरेका हुन् । उनी नै विद्यालयको सञ्चालक र प्रिन्सिपल हुन् । विद्यलयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी र वडाध्यक्ष खनालले बीएन्डसी अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिएका छन् । बालक सेफ्टी ट्याङ्कीमा डुबेको भेटिएपछि विद्यालय बन्द गरिएको छ भने प्रहरीले विद्यालयको सुरक्षा गरिरहेको छ ।