बेइजिङ । जलवायुमामिला सम्बन्धी जिम्मेवारी तोकिएका अमेरिकी दूत जोन केरीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा चार घण्टा लामो वार्ता गरी पृथ्वीको तापक्रम वृद्धि घटाउने विषयमा रोकिएको कूटनीतिक वार्तालाई पुनर्जीवित गरेका छन् ।
गत वर्ष अमेरिकी संसदकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले स्वशासित ताइवानको भ्रमण गरेर बेइजिङलाई आक्रोशित बनाएपछि दुई ठूला हरितगृह ग्यास उत्सर्जक देशहरूबीचको जलवायु वार्ता रोकिएको थियो ।
वासिङ्टन र बेइजिङबीच ताइवान र अन्य थुप्रै विषयमा विवाद भए पनि पूर्व विदेशमन्त्री केरीले चीनसँग तुलनात्मक रूपमा सुमधुर र निरन्तर सम्बन्ध राख्दै आएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उनले आफ्ना चिनियाँ समकक्षी सी झेन्हुआसँग जलवायुपरिवर्तनले पृथ्वीमा ल्याएको वातावरणीय संकट र यसको नियन्त्रणका लागि विश्वका प्रमुख अर्थतन्त्र र प्रदुषणका लागि बढी जिम्मेवार मानिएका मुलुकहरूको भूमिकाप्रति सोमबार बेइजिङमा भएको चार घण्टा लामो वार्ताका क्रममा छलफल भएको थियो ।
‘जलवायु परिवर्तनसम्बन्धी मामिलाका लागि चीनका विशेष दूत सी झेनहुआले उनका अमेरिकी समकक्षी जोन केरीसँग करिब चार घण्टा छलफल गर्नुभएको छ,’ सरकारी प्रसारक सिसिटिभीले छलफल भएका बुँदा र सहमतिबारे थप विवरण सार्वजनिक नगरिकन वार्ताको पुष्टि गरेको छ ।
केरीले आइतबार सीएनएनलाई बताएअनुसार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बेइजिङलाई ‘आफू विकासशील राष्ट्र हो भन्ने कुनै पनि प्रकारको दाबीको पछाडि नलुक्न’ दबाब दिने अमेरिकी अडान रहेको बताएका थिए ।
सुलिभानले भने, ‘चीनलगायत सबै देशको उत्सर्जन घटाउने जिम्मेवारी छ र मलाई विश्वास छ, विश्वले चीनलाई उत्सर्जन घटाउन अझ नाटकीय कदम चाल्न दबाब दिनुपर्छ र प्रोत्साहित गर्नुपर्छ ।’
चीनले लामो समयदेखि विकासशील राष्ट्रको रूपमा आफ्नो आधिकारिक हैसियतलाई आफ्नो उच्च उत्सर्जनको औचित्य पुष्टि गर्न प्रयोग गर्दै आएको छ तर यस सम्बन्धमा उनीहरूका लागि अझै धेरै काम गर्न बाँकी छ,’ सुलिभानले भने। ‘विदेशमन्त्री केरीले बेइजिङमा रहँदा यो कुरा राख्नुहुनेछ,’ उनले भने ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र अर्थमन्त्री जेनेट येलेनले अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले गरेका अन्य दुई उच्च स्तरीय भ्रमणपछि केरीको यो भ्रमण हुन लागेको हो ।
उत्तरी गोलार्धमा ग्रीष्मकालीन गर्मीको रेकर्ड कायमै रहेका बेला उनको चीन भ्रमण भएको वैज्ञानिकहरूले बताएका छन् ।
‘ग्रान्थम रिसर्च इन्स्टिच्युट अन क्लाइमेट चेन्ज एन्ड द इन्भाइरोमेन्ट’ का वरिष्ठ सदस्य चुनपिङ सीले एएफपीसँग भने,’केरीको भ्रमण र जलवायु अन्तरक्रियाको पुनरुत्थानले जलवायु सङ्कटलाई सम्बोधन गर्न समन्वयात्मक प्रयासको महत्वपूर्ण महत्वलाई जोड दिन्छ ।
‘यसले साझा भलाइलाई बढावा दिन जटिल भूराजनीतिक सम्बन्धलाई पुनः स्थापित गर्ने उनीहरूको साझा दृढतालाई पनि प्रदर्शित गर्दछ,’ सीले भने ।
जलवायु परिवर्तनलाई निम्त्याउने हरितगृह ग्यासको प्रमुख उत्सर्जकका रूपमा चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई उच्च बनाउने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि सन् २०२६ देखि कोइलाको प्रयोग घटाउने बताएका छन् ।
तर बेइजिङले अप्रिलमा कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरेको थियो । वातावरण संरक्षणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्रीनपीसका अनुसार चीनले कोइला ऊर्जामा ठूलो वृद्धिलाई अनुमोदन गरी उत्सर्जन घटाउने प्रतिज्ञाभन्दा ऊर्जा आपूर्तिलाई प्राथमिकता दिएको र यसले चीनको आफ्नो लक्ष्य पूरा गर्न असफल हुने चिन्तालाई बढावा दिएको छ । एएफपी