अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित : डब्लुएफपी



संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो ।

डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी प्रभावित क्षेत्रमा लाखौं शरणार्थीको आगमनले यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको उल्लेख गरेको छ । “सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा भएपछि ‘हर्न अफ अफ्रिका’ भनेर चिनिने सोमाली प्रायद्वीपमा व्यापक मौसमी खडेरी परेको छ, जसले कृषि, पशुधन, वनस्पति, जलस्रोत, जीविकोपार्जन र चरन स्रोतलाई प्रभावित पारेको छ,” डब्लुएफपीको प्रतिवेदनमा भनिएको छ ।


संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त क्षेत्रमा लामो समयदेखिको खडेरीका कारण दुई करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको अनुमान गरेको छ । यस वर्षको सुरुमा डब्लुएफपीले मार्चदेखि मे २०२३ को बीचमा अर्को खराब वर्षायामको घटनाले उक्त प्रायद्वीपका समुदायहरूमा विनाशकारी परिणामहरू ल्याउने चेतावनी दिएको थियो ।