कोशी सरकारविरुद्ध रिटको पेसी न्यायाधीश सपना मल्लको इजलासमा



काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको छ ।

थापालाई असंवैधानिक तवरले मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटमा यसअघि तीन पटक पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेको छैन ।


उक्त रिटको सुनुवाइका लागि तोकिएका पेसी हेर्न नभ्याइने’ भन्दै स्थगित हुँदै आएका छन् ।

कोशी प्रदेशमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको भन्दै एमालेले त्यसविरुद्ध रिट दायर गरेको थियो ।

निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा एमालेले सो प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ। रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख गौतमलाई विपक्षी बनाइएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।