बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका लालपुर्जा विहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।
नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को भदौमा गोस्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा नंं ४ का करिब पाँच सयको गाउँब्लकको जग्गा धनी पुर्जा तयार पारिएको छ ।
नरैनापुर गाउँपालिकामा रहेका छ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताए । उनले छ वटै वडामा करिब दुई हजार पाँच सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
मिश्रले भने, ‘अहिले वडा नम्बर ४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी चार सय बढीलाई पुर्जा वितरणको तयारी गरिएको छ ।’ अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनको भनाइ छ ।
नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाण पुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताए ।