आधुनिक पानी घट्टले फेरियो स्थानीयको दैनिकी



मुगु । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको बीचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बीचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट ।

वरीपरी माटोले छाएको घरको पर्खाल, हरियो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको  सोरु गाउँपालिका–७ मा अवस्थित पानीघट्टको । बुम्च र सिपबासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि त्यस गाउँका नागरिकको हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्छ ।


बुम्च गाउँमा पहिले दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर घट्ट पिस्नु जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिकाका बुम्च, धैन, गिँलाहा, तारापानीबासीका नागरिक बुम्चको अहिले घण्टौँ हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ । ‘यहाँ घट्ट नहुँदा तीन घण्टा पैदल हिँडेर अन्त जानुपर्ने बाध्यता हटेको सोरु गाउँपालिका–७, बुम्चकी तारा बिष्टले बताइन् ।

‘पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थेँ,’ उनले भनिन्, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइँदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे । बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिका छन् ।’ तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो ।

घट्ट पुग्ने बित्तिकै गहुँका बोराले घट्ट भरिभराउ हुन्थे । अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले उनी सम्झिन्छन् । तारा जस्तै यहाँका एकसय  घर परिवारका समस्या उस्तै थिए। तर अहिले दिन फेरिएका छन् ।

पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै धैन, गिँलाहा र तारापानीका नागरिकका दुःख टरेको छ ।

२ लाख ४० हजार लागतमा निर्माण सम्पन्न भएको घट्ट धैन, बुम्च, गिँलाहा, तारापानीका गरी एक सयभन्दा बढि घरधुरीका नागरिक लाभान्वित भएका छन् ।