सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण, जेठ २८ गतेदेखि खोप अभियान



सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । ६५ जना शङ्कास्पद बिरामीको चेकजाँच गर्दा पाँचजनामा दादुरा भेटिएको हो । 

वीरेन्द्रनगर र चिङ्गाडमा दुई–दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ । 


यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियान आगामी असार ५ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो चरणमा बराहताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने प्रमुख गौतमको भनाइ छ ।

यसैबीच, दादुरा रुवेला खोप अभियान सम्मेलनबारेमा जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । अभियान सफल बनाउन सरकारको धेरै लगानी गरेको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्नेमा जोड दिए । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा कार्यक्रमका निर्देशक डा. रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।

खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ । खोप केन्द्र विद्यालयमा राखिने छ । दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ ।