प्रधानमन्त्रीलाई एमालेको प्रश्न- ‘नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताएका हुन् । ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं,’ उनले भने ।


‘कालपानी लिपुलेक लिम्पियाधुरा कुनै पनि सर्तमा नेपालको भूमि विदेशीलाई दिने हक प्रधानमन्त्रीलाई दिएको छैन । उहाँले के आधारमा बंगलादेशको बाटोको कुरा गर्नु भयो?,’ सांसद भट्टराईले प्रश्न गरे, ‘एमाले लम्पसारवादका विरुद्ध उभिन्छ ।’

उनले नेपालका लागि हवाई रुट, सीमा समस्या समाधान, डुबान, पञ्चेश्वर परियोजना लगायतका विषय चासोमा रहेको तर त्यसमा कुनै प्रगति नभए भन्दै भट्टराईले प्रश्न गरे– ‘विमस्टेक, सार्कको बारेमा कुरा उठाउनुहोला भन्ने ठानेका थियौं । ईपीजीको बारेमा प्रश्न उठाउँदा परिस्थिति बिग्रिन्छ, डुबानबारे कुरा उठाउँदा, सीमाबारे प्रश्न उठाउँदा माहोल बिग्रन्छ भने के गर्दा चाहिँ सप्रिन्छ ?’

भारतीय प्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिम्पियाधुरा भारतसँग साटफेर गर्ने सकिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिविरुद्ध एमाले सदनमा कडाईका साथ प्रस्तुत भएको हो ।