नेपाली दर्शकको रोजाइमा हाँस्य विधामा बनेका चलचित्र



काठमाडौँ । नेपालमा अन्यको तुलनामा हाँस्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् ।
गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हाँस्य व्यङ्ग्य शैलीमा निर्माण हुनेकै संख्या बढी छ ।

यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् । निर्माता समेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् ।


टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन् । उनीहरुको चलचित्र हेर्न दर्शकको राम्रै भीड देखिन्छ ।

‘बक्सअफिसलाई हेर्दा समेत हाँस्य व्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुशी खोज्न दर्शक हलसम्म आउनु भएको हुनसक्छ’, निर्देशक प्रदीप भट्टराईले भने । हाँस्य कलाकार किरण केसीका अनुसार हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इन्डोर्फिन नामक रसायनले मुड ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो– जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । यी यस्तै कारणले हास्य विधालाई दर्शकले प्राथमिकतामा राखेको हुन सक्छ ।

‘हाँस्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो’, हाँस्य कलाकार केसीले भने, ‘हाम्रो कामले एकैछिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन् ।’

चलचित्रभित्र पहिला हाँस्य व्यङ्ग्य एउटा पाटो मात्र हुन्थ्यो । हाँस्य कलाकारको काम नै हसाउने हुन्थ्यो तर अहिले हाँस्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ । यद्यपि सचेत हुनुपर्ने अवस्था पनि रहेको निर्देशक भट्टराईको भनाइ छ । उनले भने, ‘दर्शकले गरिरहनु भएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।’