गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश श्रेष्ठको इजलाशमा



काठमाडौं । गौर हत्याकाण्डसम्बन्धी रिटमा आज सुनुवाई हुँदैछ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै पीडितका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सो रिट निवेदन वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाई हुने भएको हो । २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।


हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो । हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले गत जेठ २१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दाको पेसी जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमानसिंह राउत, जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो । त्यसैगरी जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेञ्च नबसेको कारण स्थगित भएको थियो । त्यसपछि मंगलबार वरिष्ठतम् न्यायाधीश श्रेष्ठको इजलासमा उक्त रिट परेको हो ।

पीडित परिवारका तर्फबाट त्रिभुवन साहले दर्ता गराएको रिटमा घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ । साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाएका छन् ।