केन्याद्वारा सुडानमा रहेको दूतावास बन्द



सुडान । सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ।

विदेश र डायस्पोरा मामिला मन्त्रालयका विदेश मामिलाका प्रमुख सचिव कोरिर सिङ्गोईले केन्याले सुडानमा रहेका कुनै पनि केन्यालीहरूलाई बाहिर निकाल्न सहजीकरण गर्न खुला रहेको बताएका छन् । 


‘हामीले सुडानको खार्तूममा सशस्त्र समूहहरूले कूटनीतिक अधिकारीहरूलाई निशाना बनाएको चिन्ताजनक समाचारहरू प्राप्त गरिरहेका छौं । खार्तुममा रहेको केन्या मिशन जुन अझै पनि केन्यालीहरूलाई बाहिर निकाल्नको लागि खुला रहेको थियो, अहिले बन्द छ,’  उनले भने । 

सुडानका सेनापतिहरूबीचको लडाइँमा केन्याले मे महिनाको शुरुसम्ममा कम्तीमा ९०० व्यक्तिको उद्धार गरेको छ। विदेश मन्त्रालयका अनुसार सुडानमा ३,००० भन्दा बढी केन्यालीहरू बसोबास गरिरहेका थिए।