भारी वर्षा र बाढीले मध्य जापानमा ३ को मृत्यु, ९९० घर ध्वस्त



जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको छ । यहाँ पुनस्र्थापना कार्य अझै जारी छ ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार यसअघि बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ । उनको शव आइतबार शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको थियो । योसँगै बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।


त्यसैगरी बाढीमा परेका घरको सङ्ख्या आइचीमा दुई सय ७३ र सिजुओकामा सात सय १७ पुगेको छ । स्थानीय अधिकारीहरूले केही आवासीय क्षेत्रहरूमा पानी आपूर्ति पुनःस्थापना गर्न र आइची प्रान्तमा विद्यालयहरू सफा गर्न प्रयासहरू गरिरहेका छन् ।