एमालेले हटाउँदै ७० वर्षे उमेर हद, विधान महाधिवेशनबाट अनुमोदनको तयारी



काठमाडौं । नेकपा (एमाले) ले ७० वर्षे उमेर हद हटाउने भएको छ । नेकपा (एकीकृत समाजवादी) बाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाउ गर्न लागिएको हो ।

गएको शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एक पदाधिकारीले जानकारी दिएका छन् ।


नवौँ महाधिवेशनपछि एमालेमा ७० वर्षे उमेर हद राखिएको थियो । ७० वर्षे उमेर हद हटाए एमाले प्रवेश गर्ने नेकपा (एकता राष्ट्रिय एकता अभियान) का संयोजक वामदेव गौतमले पनि बताउँदै आएका छन् । ७० वर्षे प्रावधान नहटाउँदा अर्को पटकको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अरू नेतालाई अप्ठ्यारो पर्ने देखिन्छ ।