उज्जैनमा लगाएको गेरुवस्त्रलाई संस्कृतिक कूटनीतिको रूपमा लिऔंः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मनैदेखि धर्मनिरपेक्षतावादी भएको स्पष्टीकरण दिएका छन् । साथै आफू धर्मविरोधी नभएको तर सबै धर्मलाई समान व्यवहार गर्ने उनको भनाइ छ । भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेको विषयलाई लिएर प्रश्न उठेपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले उक्त पूजाको सन्दर्भमा मन्दिरको नियम अनुसार नै आफूले गरेको बताएका थिए ।


प्रधानमन्त्रीले उज्जैनको धार्मिक स्थलमा गेरू वस्त्र नलगाएको भए भारतीयको मनमा चिसो पस्ने भएकाले आफूले गेरुवस्त्र लगाएको बताए । उनले यसलाई धार्मिक कूटनीतिको रूपमा लिन पनि आग्रह गरे ।

उनले भने,’सेक्युरिटीले नलगाउन पाए हुन्थ्यो भनेर बल लगाए । तर त्यहाँ अतिथिले त्यो लगाउनुपर्ने प्रोटोकल रहेछ । म कम्युनिष्टमात्रै होइन प्रधानमन्त्री पनि हो नि।’ मैले नलगाउँदा भारतका करोडौं मान्छेको मनमा चिसो पस्थ्यो। यसलाई एउटा संस्कृतिको कूटनीतिको रूपमा लिऔं।’

प्रधानमन्त्रीले आफू मुस्लिमहरूको मस्जिदमा, क्रिश्चियनको चर्च, बुद्धिस्टको धार्मिक स्थल लगायतमा समेत गएर प्रार्थना गरेको बताए । उनले आफू कुनै धर्मविशेषको नभएर सबै धर्मलाई समान व्यवहार गर्ने पनि उनको भनाइ थियो । धर्मनिरपेक्षता भनेको धर्मविरोधी नभएको र सबै धर्मलाई समान व्यवहार गर्ने अर्थ बुझिने उनको तर्क थियो ।

‘मुस्लिम कम्युनिटीमा जाँदा उहाँहरुको टोपी लगाएको छु । क्रिश्चियनको गिर्जाघरमा जाँदा मन्त्र जप्दै गरेको फोटो तपाईंहरुसँग छ कि छैन,’ उनल भने ‘लुम्बिनी जाँदा बुद्धिष्टहरूको कार्यक्रममा पनि त्यतिकै सहभागी भएको छु । हिन्दुकहाँ जान नहुने र अरुकोमा जान हुने भन्ने हुन्छ र ? म वास्वतमा मनैदेखि धर्मनिरपेक्षतावादी हुँ ।’

भारतको चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर १ सय ८ किलो रुद्राक्ष र ५० हजार भारतीय रुपैयाँ भेटी चढाएर पूजा गरेका थिए ।