मैथिली भाषा, साहित्य र कलाबारे जनकपुरधाममा विमर्श कार्यक्रम हुने



जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा झाका अनुसार यही जेठ २६–२८ सम्म तीन दिने ‘विमर्श एक दीप चेतनाक’ कार्यक्रम आयोजना हुनेछ ।


तीन दिनमा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, स्त्री विमर्श, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायतका कार्यक्रममा हुने उनको भनाइ छ ।

कार्यक्रममा सहयोगी संस्था नेपोटिभ टायल्सका सञ्चालक श्यामनाथ झाले करिब रु १२ लाखको लागत अनुमान गरिएको कार्यक्रम कुनै दातृ तथा सहयोगी संस्थाबाट सहयोग नलिई आफ्नो आम्दानीबाट खर्च आयोजना गर्न लागिएको बताए ।

कार्यक्रममा साहित्यकार रमेशरञ्जन झाले विमर्शका माध्यमबाट नेपालीपछि सबैभन्दा बढी बोलिने मैथिली भाषा, यहाँको साहित्य, दर्शन र समकालीन समाजका सिर्जनाका विषयमा एउटा निष्कर्षमा पुग्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यक्रमलाई मैथिली साहित्यको महोत्सवका रूपमा मनाउन सबैलाई सहयोगका लागि आग्रह गरे ।