भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताएका छन् ।

गृहमन्त्रालयमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले उपप्रधानमन्त्री श्रेष्ठसँग गरेको भेटमा उनले समृद्धिको तगारो कमिसन र भ्रष्टाचार नै भएकाले यसलाई नियन्त्रण गरी मुलुकालाई विकास र समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।


‘कमिसन र भ्रष्टाचारलाई नतोड्दासम्म राजनीतिक परिवर्तनमार्फत सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिको चाहना पूरा गर्नसक्ने अवस्था छैन । यसलाई सार्थकता दिन स्वच्छता, दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ’, उनले भने ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने दृढता व्यक्त गरे ।

उनले आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर विदेश पठाउँदै पैसा कमाउने धन्दा सामान्य ठगीको घटना मात्रै नभएको भन्दै यो सङ्गठित अपराध भएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले देशको छविलाई कमजोर र अपमानित पार्ने, बेइज्जति गर्ने काम पनि जोडिएकाले यो राज्यविरुद्धकै अपराध किन होइन ? भन्ने प्रश्न पनि उठेको बताए ।

‘अनुसन्धानको प्रक्रिया नसकिएकाले नैतिक र कानुनीरुपले पनि सबै कुरा भन्नसक्ने अवस्था छैन । तपाईंहरुलाई म बारम्बार दोहोर्‍याएर भनिरहेको छु कोही निर्दोष फस्ने छैनन् र कोही दोषी उम्कने छैनन् । यही दृष्टिकोण र मान्यताका आधारमा प्रहरीले निष्पक्ष अनुसन्धान गरिरहेको छ’, उनले भने ।

तथ्य र प्रमाणका आधारमा यस प्रकरणलाई निष्कर्षमा पुर्‍याउने गरी अनुसन्धान भइरहेको भन्दै उनले अनुसन्धान जहाँ र जोसँग पुग्छ सोहीअनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।