प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक



काठमाडौँ । कोशी प्रदेशको पुनः नामाकरणको हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत आमसभा, बहिष्कार, तालाबन्दी, कालो झण्डा गाड्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले कोशी नामाङ्करणमा हस्ताक्षर गर्ने सांसद र प्रमुख दलका नेता सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने र उनीहरुलाई होटलमा बस्न र कार्यक्रमका लागि हल नदिन आग्रह गर्ने जनाएको छ ।


त्यस्तै, आन्दोलनलाई शसक्त बनाउनका लागि वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्ने किरात राई यायोक्साका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए । त्यस्तै, वैशाख २८ गतेदेखि आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा गाड्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने उनले बताए ।

त्यस्तै, जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने राईले बताए ।

समितिले आफूहरुको आन्दोलन कुनैपनि पार्टी र नेतृत्व विशेषप्रति लक्षित नभएको प्रष्ट पारेको छ । त्यस्तै समितिले जनताले सडक संघर्ष गरिरहँदा समस्या समाधानको साटो आन्दोलनलाई थप उत्तेजित पार्न र विभिन्न आरोप लगाएर संघर्षलाई भड्काउने काम कोशी नाम पक्षधर दलले गरेको आरोप लगाएको छ । नामाङ्करणको विरोधमा संघर्षरत जनतालाई राजावादी भनेर झूठा आरोप लगाउनु निन्दनीय भएको समितिको भनाइ छ ।