न्यायाधीश विदामा बसेकाले सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आज (आइतबार) सुनुवाइ नहुने भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो । तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ स्थगित भएको हो । मुद्दाको आजको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।


यसअघि वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन । जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो । सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौ २० गते बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् ।