नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छ : अध्यक्ष नेपाल



काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति विकृत भएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपालले नेपालको राजनीतिमा फोहोर जमेको र त्यसलाई सफा गर्नुपर्ने बताए ।

राजनीति मानिसका लागि घृणाको विषय बनेको पनि उनको भनाइ छ । नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएकोप्रति उनले आपत्ति जनाए । भ्रष्टाचार, सहज रुपमा सेवा प्रवाह नगर्नु र जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्तिले नेपालको राजनीतिप्रति निराश मान्दै गएको उनले बताए ।


‘हामी देशको राजनीतिलाई पनि राम्रो दिशामा लैजान चाहन्छौँ । राजनीतिमा अनेकौं फोहोर जमेको छ, त्यसलाई सफा गर्न चाहन्छौँ । राजनीति मानिसका लागि घृणाको विषय बनेको छ, किनभने विकृत भएको छ, भ्रष्टाचारमा डुबेको छ । यसबीचमा नेपालको राजनीतिमा नकारात्मक र निराशाजनक कुराको प्रचार हुँदै गएको छ । नकारात्मक र निराशाजनक कुरामा जुध्नुपर्छ, पहिलो कारण भ्रष्टाचार हो, दोस्रो कारण सहज रूपमा सेवा प्रवाह नगर्ने प्रवृत्ति, तेस्रो जनताको पीडा र वेदनालाई बेवास्ता गर्ने प्रवृत्ति, चौथो हाम्रा सबै कामहरूले जनताको निम्ति परिणाम दिन नसक्नु । छिटो काम नहुने, रोजगारी प्रवर्द्धन नहुने, सीप नदिने, यस्ता समस्या देखिएका छन्,’ उनले भने ।

अध्यक्ष नेपालले अबको समयमा स्वदेशमा रोजगारी दिने, सीप प्रवद्र्धन गर्ने र जनतामा सेवा सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए ।